‘नेपालीलाई वैदेशिक रोजगार रहर होइन, बाध्यता हो’

राजधानीको सामाखुसी टाउनप्लानिङस्थित एड्भान्स म्यानेज्मेन्ट ग्रुपका म्यानेजिङ डाइरेक्टर दलवीर भण्डारी छोटो समयमा वैदेशिक रोजगारको क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गर्ने एकजना युवा व्यवसायी हुन् । गण्डकी प्रदेश बागलुङ जिल्लाको पश्चिमी भेगमा सामान्य मध्यमवर्गीय किसान परिवारमा जन्मे हुर्केका भण्डारीका लागि वैदेशिक रोजगार व्यवसाय नयाँ क्षेत्र र नयाँ पेशा हो । उनको म्यानपावर कम्पनी गत आर्थिक वर्ष २०७७÷०७८ मा सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारमा पठाउनेमध्येको पहिलो भएको थियो । सो सफलतासँगै भण्डारीमा थप केही नयाँ गर्ने आत्मविश्वास र उर्जा थपिएको छ । कडा मिहेनत, इमान्दारिता र लगनशीलताले पेसा व्यवसायमा सफल हुने सत्यलाई मुलमन्त्र बनाएका भण्डारीले वैदेशिक रोजगारसँगै होटल तथा ट्राभल्स व्यवसायलाई पनि अगाडि बढाएका छन् । ट्वीन्स होटल तथा ट्वीन्स ट्राभल्स सफलताका साथ सञ्चालन गरिरहेका भण्डारीले सफल हुन कडा मिहेनत र इमानदारिताको साथमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न सक्नुपर्ने बताउँछन् । प्रस्तुत छ, युवा व्यवसायी भण्डारीसँग मध्यान्ह दैनिकका लागि रेशमराज पौडेलले गरेकोे कुराकानीको सम्पादित अंश :

 

अहिले यहाँ एउटा सफल युवा व्यवसायी बन्नुभएको छ । आफ्नो बाल्यकाल, शिक्षा, र पारिवारिक पृष्ठभूमिलाई कसरी बताउनुहुन्छ ?

 

म सामान्य मध्यमवर्गीय परिवारमा जन्मे हुर्केको मान्छे हुँ । बाग्लुङ जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने ग्रामीण परिवेशमा हाम्रो परिवारले खेती किसानी गरेरै जिविकोपार्जन गर्दै यहाँसम्म आइपुगेको हुँ । ५ दाजुभाइ, ३ दिदीबहिनी र बुबाआमा गरी दश जनाको ठूलो परिवार हो । बुवाको गत वर्ष कोभिडको कारणले निधन भयो । मेरा २ जुम्ल्याहा छोराहरु छन् । मेरो बाल्यकालको धेरैजसो समय हिमाली भेगमा हुने पशुपालन (गोठ) मै बित्यो । असारमा वर्षे बिदा भएपछि वर्षायामका करिब ६ महिना ढोरपाटनका चौरहरूमा गाई भैँसीको गोठ जाने चलन थियोे । वैशाखमा जाने र असोजमा एकै पटक वस्तुभाउसँगै औल (केही तल) गाउँमा आउने पुरानो चलन वा जिविकाको शैली थियोे । परिवारका सदस्य वैशाखमा नै लेक जाने भएपनि हामी धेरैजसो सबै स्कुले विद्यार्थीहरु असारमा वर्षे बिदा शुरू भएपछि बुकी (लेक) तिर जान्थ्यौं । लेकमा चिसो हावापानी हुने हुँदा विभिन्न रोगहरुबाट बच्न पनि सबैका अभिभावकले छुट्टी हुँदा किशोरहरूलाई बुकीमै पठाउने गर्थे । गाई भैँसीको दुध खाने, पर्याप्त व्यायाम गर्ने चलन थियोे । म स्कुलमा पढ्दा मिहेनती, अनुशासित र राम्रै विद्यार्थीमा गनिन्थें । अन्य कक्षाहरूमा तेस्रो वा चौथो स्थानमा हुने भएपनि एसएलसी परीक्षामा म हाम्रो विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण भएको थिएँ । प्लस टु बुटवलमा (व्यस्थापन) अध्ययन गरें र प्रथम  श्रेणीमा नै उत्तीर्ण गरें, स्नातक र स्नातकोत्तर व्यवस्थापन विषयमा काठमाडौंबाट अध्ययन पूरा गरेको हुँ ।

 

तपाईंको सामाजिक तथा पारिवारिक पृष्ठभूमिका धेरै युवायुवती हाल वैदेशिक रोजगारमा कार्यरत रहेका छन् । तपाईं कसरी सफल व्यवसायी बन्नुभयो ?

 

म काठमाडौं आएको १० वर्ष भयो । मेरो जीवनमा हाल देखिएको सफलता मैले एकैदिनमा प्राप्त गरेको होइन । यसमा मेरो वर्षौंको कडा मिहेनत, पसिना र इमान्दारिता मिसिएको छ । कडा परिश्रम, इमान्दारिता, निरन्तरता र प्रतिकुल अवस्थाको धैर्यताले नै कुनै व्यक्ति वा व्यवसायी सफल हुन्छन् भन्ने कुरामा मैले विश्वास गर्छु । व्यापारमा जोखिम मोल्न तयार हुनुपर्छ, अनि इमान्दारिता पनि उत्तिकै जरुरी छ । आज जति कठिन छ, भोलि झनै कठिन अवस्था आउँछ । तर, एकदिन निश्चय नै गन्तव्यमा पुग्न सकिन्छ । गत वर्ष हाम्रो कम्पनी सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भयो । ‘टिम वर्क इज ड्रिम वर्क’ भन्ने भनाइलाई आत्मसात गर्छु र सोही अनुसार काम गर्दै जाँदा वर्षकै पहिलो नम्बरको उत्कृष्ट म्यानपावर बनाउने सफलता मिल्यो । एउटा सफलताले अर्को सफलताको लागि प्रेरित गर्दाे रहेछ ।

 

अहिलेको अवस्थामा व्यवसाय सञ्चालन गर्दा व्यवसायमा के–कस्ता समस्याको सामना गरिरहनु भएको छ ?

 

सरकारी नीति र व्यवहारमा खासै तादात्म्यता मिलेको छैन । कानूनले व्यक्ति वा व्यवसायलाई विधिभित्र रहेर काम गर्न सक्ने गरी निर्माण गरेको हुनुपर्छ । त्यस्तो विधि अव्यवहारिक भएर कुनै कागजी खोस्टामा परिणत नहोस् भन्नेमा विधि निर्माणकर्ताले सचेतना र दुरदर्शिता देखाउनुपर्छ । वैदेशिक रोजगार व्यवसायीले कामदार पठाए बापत लिन पाउने सेवा शुल्क अलि व्यवहारिक भएन । दक्षिण एशियाली मुलुक सरह भएको भए काम अझै सहज र पारदर्शी ढंगले काम गर्न सकिन्थ्यो । कोही कसैलाई पनि नियतवश दुःख दिनु हुँदैन र कहिले काहीँ काम गर्दै जाँदा तलमाथि पनि हुनसक्छ । इमान्दार भएर अघि बढेमा हरेक समस्याको समाधान छ । वैदेशिक रोजगारसँग सम्बन्धित सबै निकायले अनलाइनमार्फत सेवा दिन सकेमा छिटो, छरितो र विश्वाशिलो बनाउन सकिन्थ्यो । वैदेशिक रोजगारमा जाने जो कोहीले मोबाइलमा एउटा क्युआर कोड बाहेक अरु कुनै पनि कागजातहरु बोक्न नपरोस्, सबै अनलाइनमार्फत नै गर्न सके राम्रो हुने थियोे । यसका अतिरिक्त राष्ट्र सेवक कर्मचारीमा कसरी अड्काएर व्यवसायीबाट अनुचित लाभ लिन सकिन्छ भन्ने गलत मनोवृत्तिले पनि समस्या पारेको छ । कर्मचारीहरुको नियत र व्यवहार सुधार्न सकेमा धेरै चिजको सुधार हुनेछ । यस बाहेक नेपाली कामदारको सीप र दक्षता बढ्न नसक्दा उनीहरूले समकक्षी विदेशी कामदारले भन्दा बढी  जोखिमयुक्त काम गर्नुपर्ने, तर, कम तलब सुविधा पाउने अवस्था छ । ओरियन्टेशन नाम मात्रको भएको छ । कानूनीरूपमा एजेन्ट हटे पनि उनीहरूले कामदारलाई घेराबन्दी गरेर सिधै म्यानपावर कम्पनी आउन नदिने अनुचित प्रलोभनमा पारेर ठगी गर्ने गरेका छन् । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन यी खराबी रोक्न जरुरी छ ।

 

सरकारले वैदेशिक रोजगारलाई शोषणमुक्त बनाउन फ्रि भिसा र फ्रि टिकट निर्णय गरेकोे आधा दशक भइसक्यो । फ्रि भिसा फ्रि टिकट पूर्णरूपमा कार्यान्वयन नहुनुको कारण के ठान्नु हुन्छ ?

 

फ्रि भिसा फ्रि टिकटको सैद्धान्तिक पक्ष अत्यन्तै राम्रो छ । विपन्न अवस्थामा रहेका नेपाली दाजुभाइ सकेसम्म निःशुल्करूपमा नै वैदेशिक रोजगारमा जान पाउनुपर्छ । सबै म्यानपावर व्यवसायीले केही कम्पनीमा निःशुल्क पठाइरहेका छौं । तर सबै व्यवसायीले शतप्रतिशत निःशुल्क भने गर्न सकेका छैनौं । नेपालमा सरकारले निःशुल्क भनेपनि विदेशमा व्यापारमा निःशुल्क हुँदैन भन्ने मान्यता छ । अहिले रोजागारदाता पे सिस्टम र अर्को कामदार पे सिस्टम गरी दुई तरिकाले कामदार पठाइरहेका छौं । हामी सबैको चाहना रोजागारदाताले नै सम्पूर्ण भर्ना खर्चहरु प्रदान गरोस् भन्ने नै हो । सम्पूर्ण खर्च नतिरेको अवस्थामा स्वयं कामदारले हवाई टिकट गरेर जाने सम्मको व्यवस्था बनाउन सकेमा राम्रो हुने थियो । विगत सात वर्षको कार्यान्वयनमा यो निर्णय अव्यवहारिक प्रमाणित भइसकेको छ । भारत, पाकिस्तान तथा आसियान मुलुकसँग नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न सक्ने गरी शुल्क निर्धारण गर्नु पथ्र्यो । त्यस्तो भएको खण्डमा नेपाली कामदारका लागि आउने डिमाण्ड घट्ने थिएन भने सरकारले पनि अपेक्षित मात्रामा रेमिट्यान्स पाउँथ्यो ।

 

कोरोना भाइरसको विश्वव्यापी असरपछि वैदेशिक रोजगार व्यवसायमा कस्तो स्थिति छ ?

 

कोरोना महामारीपछि धेरैजसो देशहरु सामान्य अवस्थामा फर्किसकेका छन् । लामो समयको बन्दाबन्दीपछि खुला भई व्यापार व्यवसाय बढेपछि नेपाली कामदारहरुको माग पनि धेरै बढेको छ र रोजगारी खोजीमा वैदेशिक रोजगारमा जान खोज्नेहरु पनि उत्तिकै छन् । यो डिमाण्ड र सप्लाईको तादम्यता मिलाउन सक्ने हो भने धेरै नेपाली दाजुभाइहरुले विदेशमा भए पनि रोजगार पाउने थिए । अन्य श्रोत मुलुकभन्दा नेपालको कामदार भर्ना प्रक्रिया झन्झटिलो र लामो भएकोले रोजागारदाताहरु नेपाली व्यवसायीसँग त्यति खुशी छैनन् । केही रोजगारदाताले यसै कारणले गर्दा नेपाललाई दिएको डिमाण्ड रद्द गरी अन्य देशहरुबाट पनि कामदार लिएका छन् । पछिल्ला दिनमा मलेसियामा न्यूनतम तलब १५ सय र कतारले १३ सय रिंगेट बनाएकोले पनि वैदेशिक रोजगारमा जान आकर्षण बढेको छ ।

 

विदेशस्थित कूटनीतिक नियोगले वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा कस्तो भूमिका खेलेको पाउनु भएको छ ?

 

देश आर्थिक संकटमा छ । बेरोजगारी समस्या चर्काे छ । तर विदेशस्थित दूतावासहरूमा काम गर्ने कर्मचारीले आफ्नो भूमिका र दायित्व नबुझेको जस्तो देखिन्छ । कुटनैतिक नियोगमा जानु भनेको जसरी भएपनि पैसा कमाउने र ऐस आराम गर्ने हो भन्ने परेको छ । ढिलासुस्ती गरेर अड्काउ र कमाउ भन्ने जस्तो देखिएको छ । उहाँहरूले सहजरूपमा मागपत्र प्रमाणित गरिदिने र समस्यामा पर्ने कामदारको समस्या चासोका साथ हेरिदिए अहिले व्यवसायी र कामदारमा रहेको निराशा र आक्रोस हट्छ भने आर्थिक संकटबाट देशलाई मुक्त गर्न ठूलो सहयोग पुग्ने थियोे ।

 

तपाईंहरू सरकारी कर्मचारीमाथि दोष थोपरिरहँदा म्यानपावरकै कारण वैदेशिक रोजगारी व्यवसायको क्षेत्रमा विकृति बढेको कुरा गैरसरकारी संस्थाहरूको आरोप छ ? यो विषयलाई कसरी लिनुभएको छ ?

 

मानव अधिकारका विषयमा आवाज उठाउनु गैरसरकारी संघ संस्थाको कर्तव्य नै हो । तर नेपालको वैदेशिक रोजगार व्यवसायका बारेमा उनीहरूको दृष्टिकोण पूर्वाग्रही देखिन्छ । कतिपयले अध्ययन नै नगरी हचुवाका भरमा बदनाम गरिरहेका छन् । डिमाण्ड खोज्नेदेखि श्रम स्वीकृतिसम्मका प्रक्रियामा कति झन्झटिला प्रक्रिया छन्, उनीहरूले बोल्न चाहँदैनन् । सरकारले दक्षिण कोरिया र इजरायल कामदार पठाउँदा कति रकम लिएको छ । यस विषयमा उनीहरू बोल्नुपर्ने हैन र ? अर्कोतिर एजुकेसन कन्सल्ट्यान्सीहरूले ब्लक ब्लकमा ठगी गरेका छन् । वैदेशिक रोजगार विभागले पछिल्लो पटक सार्वजनिक गरेका ठगीका घटनाले वैदेशिक रोजगार व्यवसायीलाई बद्नाम गर्न को संलग्न रहेछन् भन्ने सार्वजनिक भएको छ । गैरसरकारी संस्थाले वैदेशिक रोजगार व्यवसायीमाथि एकोहोरो आरोप लगाउनु हुँदैन । व्यवसायीका केही कमजोरी छन् । उहाँहरूले पनि आफुलाई अनुशासनको दायरामा राख्न सक्नुपर्छ ।

 

खाडी र मलेसिया केन्द्रित भएको नेपालको वैदेशिक रोजगारलाई युरोपेली देशहरूमा विस्तार गर्न सकिँदैन ?

 

हामीले युरोपेली मुलुकमा नेपाली कामदार पठाउन प्रयास नगरेको होइन । मञ्चको ठूलो टिम नै युरोपेली मुलुकहरूमा पुगेर स्थलगत अध्ययन गरेकोे छ । अहिले बेलायतमा सिजनल कृषि कामदारको माग छ । तर ती ठाउँमा नेपाली कामदार पठाउन दूतावासहरू असहयोगी देखिए । मागपत्र प्रमाणित नगर्ने, गरेपनि महिनौं लगाउने गर्दा व्यवसायी हतोत्साहित भएर खाडी र मलेसियामा नै केन्द्रित हुनुपर्ने बिडम्बनायुक्त अवस्था छ ।

 

अन्य क्षेत्रमा जस्तै वैदेशिक रोजगार व्यवसायीमा पनि अति पार्टी राजनीति हाबी भएको गुनासो छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको उपाध्यक्षका हैसियतले यो गुनासोलाई कसरी हेर्नु भएको छ ?

 

व्यवसाय सफलताका लागि मसँग भएको ज्ञान, सीप र क्षमताको उच्ततम प्रयोग गर्न, वैदेशिक रोजगारका विविध विषयमा केही नयाँ कुरा सिक्न, अन्य घटक संस्थाहरूसँग समन्वय र सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि समाधान हुन नसकेर थाती रहेका विषयहरूको समाधान खोज्न योगदान हुन सकोस् भनेर म प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चमा आवद्ध भएको हुँ । म अहिले सो संगठनको उपाध्यक्ष जस्तो जिम्मेवार पदमा रहेर काम गरिरहेको छु । सरकारी पक्षका कतिपय पूर्वाग्रह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण वैदेशिक रोजगार व्यवसाय समस्यामा जकडिएको छ । यहाँ राजनीति गरेर समस्या थप्ने होइन आफ्नोतर्फबाट समाधान खोज्नुपर्ने भएकोले कसैले पनि यस क्षेत्रमा पसेर राजनीति गर्ने सोंच राख्नु हुँदैन । समस्याको समाधान पहिलो र प्राथमिक विषय हो । दलीय व्यवस्थामा राजनीतिप्रति आस्था र चासो राख्नु सचेत नागरिकको कर्तव्य पनि हो । तर, सबै विषयमा पार्टीगत दृष्टिकोण राख्नु हुँदैन ।